कोशी प्रदेशको अस्थिरताको मूल कारक कांग्रेस : सिटौला

विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का कोशी प्रदेशका संसदीय दलका नेता भक्ति सिटौलाले कोशी प्रदेशको राजनीतिको मूल कारक नेपाली कांग्रेस रहेको आरोप लगाउनु भएको छ।
आज विराटनगरमा विकल्प एन अल्टर्नेटिवले आयोजना गरेको ‘कोशी प्रदेशको राजनीतिक गतिरोध , त्यसको असर र सम्भावित निकास ‘ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै सिटौलाले कांग्रेसले माओवादीलाई बोकेर हिँडेको कारणले प्रदेशमा अस्थिरता देखिएको बताउनु भएको हो।
सिटौलाले कांग्रेस र गठबन्धन दलका नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री बन्ने अभिलाशाले पनि प्रदेशमा राजनीतिक अस्थिरता निम्ताउने प्रयत्न भएको हो।
कार्यक्रममा नेकपा एमालेका कोशी प्रदेशका संसदीय दलका उपनेता राम राणाले प्रदेशमा समावेशिताको प्रयोग एमालेले गरेको र एमालेलाई पहिलो दल भएकोले सबै दलले सर्वसम्मतिको सरकार बनाउन सकेको अवस्थामा प्रदेशमा अस्थिरता नआउने बताउनु भएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य सदानन्द मण्डलले सबै दलले सहकार्य गरेमा मात्र प्रदेश र कोशी प्रदेश सरकारको अस्तित्व जोगाउन सकिने बताउनु भएको थियो। कार्यक्रममा कोशी प्रदेशका पूर्व मन्त्री जयराम यादवले संघियता स्वीकार गर्न सक्ने शक्ति मात्र सत्तामा भए प्रदेशले स्थिर सरकार पाउने बताउनु भएको थियो।
विकल्पले गरेको अन्तरक्रिया कार्यक्रमको सहजीकरण संस्थाका निर्देशक वसन्त अधिकारीले गर्नु भएको थियो भने संचालन विकल्पको सृष्टिका न्यौपानेले गर्नु भएको थियो।

Back to top button