एसियड क्रिकेट: मंगोलिया ४१ रनमा अलआउट, नेपाल २७३ रनले विजयी

काठमाडौं । मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी भएको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको टि–२०आई खेलमा मंगोलियाले १३.१ ओभर खेल्दै ४१ रनमै अलआउट भएको हो।

मंगोलियाका लागि दबासुरेनले १० रन बनाउनुभयो। त्यसबाहेक कुनै खेलाडीले पनि दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालका लागि करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले २–२ विकेट लिनुभयो। त्यसैगरी सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिनुभयो।

यसअघि नेपालले मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले निर्धारित ओभरको खेलमा ३ विकेट गुमाएर ३१४ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कुशल मल्लले शतक प्रहार गर्नुभयो । उहाँले ५० बलमै १३७ रनको कीर्तिमानी शतक प्रहार गर्नुभएको हो। उहाँले मंगोलियाविरुद्ध १२ छक्का र ८ चौका प्रहार गर्नुभयो।

यस्तै, कप्तान रोहित पौडेलले अर्धशतकसहित ६१ रनमा आउट हुनुभयो। २७ बल खेल्नुभएका उहाँले ६ छक्का र २ चौका प्रहार गर्नुभयो। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १० बलमै ८ छक्का प्रहार गर्दै अर्धशतकसहित ५२ रन बनाउनुभयो।

ओपनर कुशल भुर्तेल १९ रनमा आउट हुँदा आसिफ शेख १६ रन बनाएर पेभेलियन फर्किनुभएको थियो।

Back to top button