१९औं एसियाड: ब्याडमिन्टनमा नेपालको पुरुष टिम विजयी

काठमाडौं । १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ ।

बिनजियाङ जिम्नयाजियम कोर्टमा आज भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २–० ले हराउँदै हराउनुभयो । प्रिन्स २१–८, २१–१४ तथा सुनिल २१–११, २१–७ ले विजयी हुनुभयो ।

तर, विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २–१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१–२३, २४–२२, १७–२१ ले पराजित हुनुभयो।

तर, प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २–० ले पराजित गर्दै खेल जितेको हो । प्रिन्स र विष्णुको जोडी २१–८, २१–९ले विजयी भयो ।

यस्तै, महिला टिम इभेन्टमा भने नेपाल माल्दिभ्ससँग ३–१ ले पराजित भयो ।

नेपालकी रशिला महर्जन माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल रज्जाकसँग २–१ ले, नङ्शल तामाङ अमिनाथ नाबिहा अब्दुल रज्जाकसँग २–० पराजित हुनुभयो । अनु माया राईले अइसाथ अफ्नान असिदलाई २–० ले पराजित गरेपछि नेपालले खेलमा पुनरागमन गरेको थियो । तर, रशिला र अनुको जोडी फतिमाथि र अमिनाथको जोडीसँग २–० ले पराजित भएपछि नेपाल खेलमा पराजित भएको हो ।

Back to top button