इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राको अवलोकन गर्न बसन्तपुर पुग्नुभएको छ । केहीबेरअघि न्युरोडको जुद्धशमशेर शालिकबाट हिँडेर राष्ट्रपति पौडेल बसन्तपुर पुग्नुभएको हो ।

आजको दिन मुख्यरुपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रुपमा रहेका कुमारी,गणेश र भैरवको दर्शन गर्ने परम्परा छ।

इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति,सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, काठमाडौं महानगरपालिका मेयर–उपमेयरलगायतका पदाधिकारीहरू हुनमानढोका पुग्नुभएको छ ।

काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी साधनमा रोक लगाएपछि उहाँहरू सबै हिँडेरै बसन्तपुर पुग्नुभएको हो । रथयात्रा हेर्न सर्वसाधारणदेखि विदेशी पाहुनाको भीड लागेको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान,रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ ।

यस्तै, यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।

Back to top button