
विराटनगर : कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई दिइएको छ। आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी अधिकारीलाई दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय समेत गरेको छ।
त्यसैगरी , बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिक गर्ने , कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्न संघिय सरकारको अर्थमन्त्रालयलाई अनुरोध गर्ने , प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति दिने लगायतको निर्णय समेत गरेको छ।
बैठकले असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराँव तथा झाँगड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ।