
हेटौडा । करिब २ हप्ताअघि बन्द भएको हेटौडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरू गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ ।
बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरू गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो।
हेटौडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उहाँले जानकारी दिनुभयो ।
उक्त उद्योगमा विद्युत् आपूर्तिको लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटक–पटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नु परेकाले प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गर्न पत्राचार भइरहेको पनि महाप्रबन्धक कर्णले बताउनुभयो।
नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको उल्लेख गरिएको छ । साविक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भएपनि अहिले दैनिक १० हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले जनाएको छ ।
यस्तै, विसं २०३३ मा हेटौंडामा स्थापना गरेको उक्त उद्योगले २०४३ साल मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको थियो । १ अर्ब ५० करोडको लगानीमा स्थापना गरिएको सो उद्योगले अहिले विभिन्न सहरमा दैनिक ४ हजारदेखि ५ हजार बोरासम्म मात्र सिमेन्ट बिक्रीवितरण भइरहेको छ।
पर्याप्त सिमेन्ट बिक्रीवितरण हुन नसक्दा निकै आर्थिक भार व्यहोर्न परेको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले बताउनुभयो।