
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभाका सांसद रवि लामिछानेले संविधान दिवसका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकामा आपत्ति जनाउनुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकमा उहाँले संविधान जारी भएको खुशियाली मनाउनुपर्ने दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको हो ।
‘नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा, संविधान जसलाई लिएर यो देशले आशा, भरोसा गरेको छ । त्यतिधेरै लगानी गरेर हामीले संविधान बनाएको दिनको मौका छोपेर जुन काम सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट हुन गयो राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको घोर विरोध गर्न चाहन्छ’, उहाँले भन्नुभयो ।
सांसद लामिछानेले जनताले खुशी मनाउने दिनमा जघन्य अपराध गर्ने व्यक्तिलाई उन्मुक्ति दिने प्रणालीको अन्त्य गर्न पनि माग गर्नुभयो ।
‘जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुशियाली मनाउने दिनमा उन्मुक्ति दिने प्रणाली बन्द गर्न म जोडदार माग गर्दछु’, उहाँले भन्नुभयो ।