सुन प्रकरणमा अनुसन्धान गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि ४ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।

आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले त्यसबारे जानकारी दिनुभएको हो । आयोगको अन्य सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की,गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा हुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थियो । बैठकमा जाँचबुझ आयोगको कार्यादेश गठनबारे दलहरूबीच सहमति भएको थियो।

सर्वदलीय बैठक लगत्तै प्रधानमन्त्री प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुभएको थियो । बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभएको हो ।

पूर्वसहमति अनुसार सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले आयोग गठन नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रोशित बनेको थियो। उसले आज बस्ने प्रतिनिधिसभा बैठकमा अवरोध जनाउने चेतावनी समेत दिएको थियो। जाँचबुझ आयोग गठनमा ढिलाइ भएको भन्दै अन्य दलहरूले पनि आपत्ती जनाउँदै आएका थिए।

यसअघि दलहरुबीच सुन तस्करी प्रकरणमा आयोग गठन गर्ने सहमति भएको थियो । तर, आयोग गठन गर्नेमा सरकारले आलटाल गर्दै आएको थियो । चारैतिर दबाब आएपछि जाँचबुझ आयोग गठन गर्न प्रधानमन्त्री प्रचण्ड तयार हुनुभएको हो ।

Back to top button