सेयर बजारमा ३३ अंकको गिरावट, १ अर्ब ८३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३३ दशमलव २० अंकले घटेर १९७१ दशमलव १० विन्दुमा झरेको छ।

सेन्सेटिभ इण्डेक्स ५ दशमलव ५५ अंकले घटेर ३७७ दशमलव ३९ विन्दुमा पुगेको हो । यसदिन २८४ कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँमा खरिदबिक्री भयो।

दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तरी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

आज करिब ६ कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सिटीजन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी एनआईसी एसियाको ९ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ३ दशमलव ३२ प्रतिशतले घटेको हो।

Back to top button