
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले ३३ औं जेष्ठ नागरिक दिवसका अवसरमा १२० जना जेष्ठ नागरिक सम्मान गरेको छ । आज कानेपोखरी गाउँपालिकाको प्रङ्गगणमा भएको सम्मान कार्यक्रममा गाँउपालिका अध्यक्ष राजमती इङ्गनामले सम्मान गर्नुभएको हो ।
८० वर्ष भन्दा माथिका जेष्ठनागरिकलाई गरिएको सम्मानमा १ थान टर्चलाइट १ थान लौरो १ थान छाता र राधे राधे सहित यातायात बापत ३०० रुपैयाँले सम्मान गरिएको थियो । प्रत्येक व्यक्ति बराबर २५ सय रुपैयाको दरले सम्मान गरिएको छ ।
त्यसैगरी, दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै पालिका अध्यक्ष राजमती इङ्गनामले स्थानिय सरकारले संविधानको कार्यन्वयन गर्दै हरेक नागरिकलाई स्थानिय सरकार रहेको प्रत्याभूति दिलाउने बताउनुभयो । यस्तै, दिवसकै अवसरमा सुमेरु पर्वतको कथा गर्नुहुदै आमाबुबा भनेका साक्षात भगवान रहेकाले उहाँहरुलाई सम्मान गर्नुपर्ने कुरा औल्यानुभयो ।
हामीले यसरी सम्मान गर्नेबानीको बिकासले हाम्रा पछिल्ला पुस्ताले समेत यसको सिको गरेर सम्मान गर्ने बानीको बिकास हुनेमा आफु ढुक्क रहेको बताउनुभयो र आफुले आफ्ना अभिभावकलाई यसरी सम्मान व्यक्त गर्न पाएकोमा खुसी समेत जनाउनुभयो ।
पालिकाबासि आमाबुबालाई अत्यन्त आवश्यक रहेको सामाग्रि सहित सम्मान गरिएको कार्यक्रमका सञ्चालक एवम पालिका प्रवक्ता शुसिल बुढाथोकीले जानकारी दिनुभयो । उहाँले वडा र पालिका सधै जेष्ठ नागरिकको र जनताको पक्षमा रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा जेष्ठ नागरिक, अपांग समिति कानेपोखरीका अध्यक्षहरुले पनि शुभकामना मन्त्वय व्यक्त गर्नुभएको थियो ।
यस्तै, कानेपोखरी गाउँपालिकाले प्रत्येक वर्ष दिवसका अवसरमा सम्मान गर्दै आइरहेको छ ।