धार्मिक र सांस्कृतिक सद्‍भाव कायम राख्न एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले धार्मिक र सांस्कृतिक सद्भाव कायम राख्न आग्रह गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले आज बिहान सामाजिक सञ्जालमार्फत सामाजिक एकताको कुनै विकल्प नभएको बताउनुभएको हो ।

उहाँले धार्मिक र सांस्कृतिक अतिवादले सदैब समाजलाई विभाजित र अशान्त बनाउने उल्लेख गर्नुभएको छ । उहाँले सद्भाव र एकता प्रदर्शन गर्न आग्रह गर्नुभएको छ ।

‘धार्मिक र साँस्कृतिक सद्भाव र सामाजिक एकताको कुनै विकल्प हुँदैन । धार्मिक र साँस्कृतिक अतिवादले सदैब समाजलाई विभाजित र अशान्त बनाउँछ।’ उहाँले भन्नुभयो,‘नेपालगंजवासीले पटक–पटक धार्मिक अतिवादमाथि विजय हासिल गर्नुभएको छ । यस पटक पनि सद्भाव र एकता प्रदर्शन गर्न सफल हुनुहुनेछ।’

महासचिव पोखरेलले सामाजिक सञ्जालमा नेपालगञ्जबासीको हित हुने खालका धार्मिक र साँस्कृतिक सद्भाव कायमहुने सकारात्मक सन्देश मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । हिजो बिहान मुस्लिम समुदायले निकालेको विरोध र्‍यालीका क्रममा विवाद उत्पन्न भएपछि सम्भावित जोखिम एवं शान्त भंग हुन जाने स्थिति देखिएकाले नेपालगंज नगर क्षेत्रमा कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Back to top button