सेयर बजारमा ९ अंकको वृद्धि, १ अर्ब १८ करोडको कारोबार

काठमाडौं । हिजो दोहोरो अंकले घटेको सेयर बजार आज सामान्य अंकले बढेको छ । साताको चौथो दिन सेयर बजार परिसूचक ९ दशमलव २४ अंकले बढेर १०६७ दशमलव ९७ विन्दुमा पुगेको हो।

कारोबारमा आएका २८४ स्क्रिप्टमध्ये १७४ को मूल्य बढ्दा नेप्सेमा ० दशमलव ४७ प्रतिशत सुधार देखिएको हो। नेप्से बढ्दा सेन्सेटिभ इण्डेक्स ० दशमलव ५१ अंकले बढेर ३७४ दशमलव ९० विन्दुमा पुगेको छ।

यसदिन ४३ लाख २३ हजार २१ कित्ता सेयर १ अर्ब १८ करोड ९९ लाख ३१ हजार ३८५ रुपैयाँमा किनबेच भए। कूल २ सय ८४ स्क्रिप्टको सो संख्याको सेयर ५८ हजार कारोबारमार्फत् किनबेच भएको हो। आज बैंकिङ उपसमूहबाहेक अरू सबै उपसमूहको सूचक बढेको छ।

होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ५२ प्रतिशतले बढ्दा हाइड्रोपावरको १ दशमलव ३७ र फाइनान्सको १ दशमलव ०४ प्रतिशतले सूचक बढेको हो।

सामान्य अंकले वृद्धि भएको बजारमा दुई स्क्रिप्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मध्य भोटेकोशी जलविद्युतको सेयर मूल्य १० प्रतिशत र बुद्ध भूमी नेपालको ९ दशमलव ९८ प्रतिशतले बढेको हो।

सेयर कारोबार रकमका आधारमा सिटीजन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर सर्वाधिक ६ करोड ९३ लाख ६३ हजार १२२ रुपैयाँमा किनबेच भए।

यसैगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड र शिवम् सिमेन्टको ३ करोड बढीको सेयर खरिदबिक्री भएको हो।

Back to top button