
विराटनगर । नेपालीहरुका महान पर्वहरु दशै, तिहार, नेपाल सम्वत् तथा छठलगायतकाकालागि लामो विदामा बस्नुअघि विराटनगर– ५ स्थित एभरेष्ट मन्टेश्वरीका बालबालिकाले आज दुर्गा पूजा गर्दै देउसी र भैलो खेलेर मनाएका छन् ।
चाडपर्वहरुको महत्व झल्कने गरि बालबालिकाले विभिन्न कृयाकलापमा भाग लिएका हुन् । बडा दशैंमा हुने धार्मीक तथा साँस्कृतिक कृयाकलापमा सरिक भएका बालबालिकाले दशैं घरमा पूजा गर्नेदेखि नवदुर्गाका विभिन्न स्वरुप तथा लक्ष्मी र गणेश बनेका बालबालिकालाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले पूजा गर्नुभयो ।
यस्तै तिहारमा खेलिने देउसी र भैलो खेल्दै बालिबालिकाले उपस्थित शिक्षक अभिभावक तथा उपस्थितहरुलाई मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रमका दौरान दिदी भाईबिचको प्रगाढ सम्बन्ध झल्काउने भाइटिका लगाउने तथा छठ पर्वमा गरिने सूर्य आरधना लगायतका कृयाकलापले उपस्थितहरुको ध्यान खिचेको थियो ।
प्ले ग्रुपदेखि कक्षा १ सम्मका बालबालिकाले चाड पर्व लक्षित प्रस्तुत कार्यक्रम हेर्नलायक थियो । यसकालागि हामीले केहि दिनअघि देखि उहाँहरुलाई अभ्यास गराएका थियौं’, मन्टेश्वरी तह इन्चार्ज रेश्मी क्षेत्रीले भन्नुभयो,‘ यसले उनीहरुमा संस्कृति बुझ्न र एक अर्काको संस्कृतिमा अन्तरघुलन हुन मद्दत पुग्छ ।’
यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले यो कार्यक्रमले दशैं, तिहार, छठलगायतका पर्वहरु किन र कसरी मनाईन्छ भन्ने विषयमा अनुभव गरेर बालबालिकाले सिक्ने वातावरण तयार भएको बताउनुभयो ।
यसरि व्यवहारिक अभ्यासका साथ अनुभव गरेका विषयहरु जीवन्त रहने भन्दै प्रिन्सिपल पुरीले यसले हाम्रा परम्परा, धर्म र संस्कृति बचाइराख्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले हरेक चाडपर्वमा प्राथमिक तहसम्म यसरि नै बालबालिकालाई सहभागि गराउँदै आएको समेत बताउनुभयो ।