स्वास्थ्य बिमाका बिरामीलाई हाम्रो अस्पतालले दुख दिएको गुनासो

विराटनगर। विराटनगरको एयरपोर्ट मोडमा रहेको हाम्रो अस्पताल प्रा. लि. नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध सेवाग्राहीहरुलाई अनावश्यक झमेला दिने गरेको पाइएको छ। विराटनगरको कोशी अस्पतालबाट हाम्रो अस्पतालमा ‘रिफेरल’ लिएका सेवाग्राहीले अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममा आवद्धहरुलाई झमेलामा पार्न खोजेको आरोप लगाएका हुन्।

विराटनगर घर भएका एक बिरामीका आफन्तले कोशी अस्पतालबाट हाम्रो अस्पतालको लागि ‘रेफेरल’ लिएको बिरामीले एउटा स्वास्थ्य समस्याको लागि फिजिसियन डाक्टरलाई देखाउदा सोहि फिजिसियनले सर्जनलाई भेट्नु भन्दा अस्पतालले सर्जनलाई देखाउन अर्कै ‘रेफेरल’ बनाएर आउन भनेको बताउनु भयो। बिरामीका आफन्तले एक पटकको ‘रेफेरल’ले स्वास्थ्य बिमा बोर्डमा आवद्ध अस्पतालमा सात दिन भित्र उपचार गराउन मिल्ने नियम आफूहरुलाई ‘रेफेरल’ दिने बेला जानकारी गराएको भएता पनि हाम्रो अस्पतालले सो नियमको पालना नगरेको बताउनु भएको थियो।

स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेश कार्यालयका संयोजक अर्जुन पण्डितले एउटा रोगको लागि रेफेरल बनाएर गएको बिरामीले सोहि रोग सँग सम्बन्धित अस्पतालमा रहेका डाक्टरहरुलाई देखाउन समस्या नहुने बताउनु भयो। पण्डितले कोशी सन्देशसँग कुरा गर्दै बिरामीले एउटै रोगको समस्या दुई – तीन जना डाक्टरलाई देखाउने अवस्था आए पनि अस्पतालले रोक्न नमिल्ने जानकारी दिनु भएको थियो।

पण्डितका अनुसार कुनै पनि अस्पतालले बिमाका बिरामीलाई दुख दिने नमिल्ने स्पष्ट पार्नु भयो। पण्डितले बिमाका बिरामीलाई अस्पतालले आफूलाई आवश्यक पर्ने सेवा दिन आनाकानी गरेको महसुस भए बोर्डको कार्यालयमा उजुरी गर्न सकिने र कार्यालयले नियमअनुसार कारवाहीको प्रक्रिया अघि बढाउने जानकारी दिनु भयो।

हाम्रो अस्पतालका संचालक डा. शंकर अधिकारीले भने अस्पतालमा बिमाको बिरामीलाई भेदभाव नगरेको बताउनु भएको छ। डा . अधिकारीले हाल बिमा कार्ड भएका बिरामीलाई उपचार दिने अस्पताल सिमित र बिरामीको चाप बढी भएकोले पनि केहि समस्या देखिन सक्ने तर अस्पतालले कार्ड बोकेको बिरामीलाई दुख दिने मनसाय नरहेको बताउनु भएको हो।

कोशी सन्देशको सम्पर्कमा आउनु भएको केहि बिरामीहरुको आफन्तले भने हाम्रो अस्पतालले जानेरै बिमाको बिरामीहरुलाई भेदभाव गर्ने गरेको बताउनु भएको छ। विराटनगरमा हाल केहि सिमित अस्पतालले मात्र बिमाको बिरामीको उपचार गर्ने गरेकोमा अस्पताल विरुद्ध उजुरी गरे पछि उपचार नपाइने डरले मात्र आफूहरु चुप लागेको बताउनु भएको थियो।

हाल विराटनगर महानगरपालिका भित्रका सरकारी र निजी गरेर ७ वटा अस्पतालहरुले मात्र स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा दिदै आइरहेका छन्।

Back to top button