क्रिकेटर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित

काठमाडौं । टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित हुनुभएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भएपनि नेपाली खेलाडी झाले उक्त अवार्ड पाउनुभएको हो ।

गुल्शनले विश्वकप एसिया क्षेत्र छनोट खेलमा ५ खेल खेलेका थिए । जसमा उहाँले ७९ रन बनाउनुका साथै ५ विकेट लिनुभएको थियो । यस्तै, आजै भएको अन्तिम खेलमा गुल्शनले सर्वाधिक ५४ रनको योगदान दिनुभएको थियो । यस उपाधिसहित उहाँले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नुहुने छ ।

यस्तै, प्रतियोगितामा ओमानका अलराउण्डर अकिब इतियास सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । ओमानलाई उपाधि जिताउन उहाँले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।

यस्तै ओमानका बिलाल खान प्रतियोगितामा उत्कृष्ट बलर चुनिनुभयो । उहाँले ५ खेलमा ११ विकेट लिनुभएको थियो। नेपालका कुशल भुर्तेल प्रतियोगितामा उत्कृष्ट ब्याटर चुनिनुभयो । कुशलले ५ खेलमा १ अर्धशतकसहित कूल १ सय ८५ रन बनाउनुभएको थियो ।

नेपाल र ओमानले आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउनेछन् । नेपालले सेमिफाइनलमा युएईलाई पराजित गर्दै विश्वकमा छनोट भएको थियो भने ओमानले बहराइनलाई हराउँदै विश्वकपमा स्थान बनाएका हो ।

उक्त प्रतियोगिताको विजेता टोलीलाई प्रधानमन्त्री पुष्पकल दाहाल (प्रचण्ड), युवा तथा खेलकुदमन्त्री डीगबाहदुर लिम्बू, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

Back to top button