सुरक्षाको माग गर्दै पाटन अस्पतालका चिकित्सकहरू आन्दोलित

काठमाडौं । ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका हुन् ।

पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षीय कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षीया जनमाया राईको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु आक्रोशित भएका थिए ।

सो क्रममा आफूहरुमाथि कुटपिट भएको भन्दै चिकित्सकहरुले स्वास्थ्यकर्मीमाथि हिंसा बन्द गर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

दुई बिरामीको एकै समयमा भएको मृत्युको घटनाको अनुसन्धान भइरहेको अवस्थामा आफूहरुमाथि कुटपिट भएकाले सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको पाटन अस्पतालका चिकित्सक डा. बिमल पाण्डेले बताउनुभयो।

प्रदर्शनमा सहभागी चिकित्सकहरुले स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर, डाक्टर कुट्न पाइदैन,डाक्टर कुटाइ खादैछ, समाज कता जाँदैछ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले कुटपिटका दोषीलाई कारबाही नभएसम्म नियमित सेवा दिन नसक्ने जनाएका छन् ।

Back to top button