नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

काठमाडौं । साताको चौथो दिन आज सेयर बजारमा सामान्य सुधार आएको छ । दिनभरको उतारचढावका माझ नेप्से परिसूचकमा ५ दशमलव १७ अंकको वृद्धि हासिल भएको हो ।

यसदिन नेप्से परिसूचक ० दशमलव २७ प्रतिशतले बढेर १८६३ दशमलव ९४ अंकमा कायम भएको छ । नेप्से बढ्दा सेन्सिटिभ इन्डेक्स ० दशमलव २१ प्रतिशतले उकालो लागेर ३५८ दशमलव ४० अंकमा पुगेको छ ।

नेप्से बढेपनि कारोबार रकममा भने सिथिलता छाएको छ । दिनभर ३० हजार ३ सय ६४ कारोबारमार्फत् २ सय ८८ स्क्रिप्टका ३१ लाख ५७ हजार ६२ इकाइ सेयर ७८ करोड २७ लाख ४३ हजार २ सय ६४ रुपैयाँमा किनबेच भए । कारोबार रकम मंगलबारको तुलनामा २१ करोड रुपैयाँ कम हो । मंगलबार ९९ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

दिनभर १ सय २४ कम्पनीको सेयर मूल्य बढ्दा नेप्सेमा सुधार आयो । ९३ कम्पनीको मुल्य घट्दा २२ कम्पनीको सेयर भाउ यथावत रह्यो ।यसदिन सर्वाधिक कारोबार हुने सेयरको सूचीमा सोनापुर मिनिरल्स एन्ड आयल शीर्ष स्थानमा रह्यो ।

कम्पनीको ५ करोड ६१ लाखको सेयर किनबेच हुँदा हिमालयन बैंकको संस्थापक सेयर कारोबार रकमका आधारमा दोस्रो स्थानमा रह्यो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर तथा सानिमा जीआईसी इन्स्योरेन्स र रिलायबल नेपाल लाइफको साधारण सेयर सर्वाधिक कारोबार हुने सूचीको शीर्ष ५ मा रहे ।

नेप्से बढेको दिन ग्लोबल आईएमई लघुवित्तका सेयर धनीले सर्वाधिक कमाए । कम्पनीको मूल्य ८ दशमलव ०७ प्रतिशतले बढ्दा पिपुल्स हाइड्रोको भाउ ७ दशमलव ४० प्रतिशतले, नेपाल एसबीआई बैंकको ७ दशमलव ३२ प्रतिशतले, भगवती हाइड्रोको ६ दशमलव ७६ प्रतिशतले तथा मान्डु हाइड्रोको सेयर मूल्य ६ दशमलव ७० प्रतिशतले बढेका छन् ।

यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ६ दशमलव ३८ प्रतिशतले घट्दा सामलिङ हाइड्रो, एनआईसी एसिया ग्रोथ फन्ड, इमर्जिङ नेपाल र मिथिला लघुवित्तका सेयरधनी सर्वाधिक गुमाउनेको सूचीमा शीर्ष ५ मा परे ।

आज कारोबार सुरु भएको आधा घन्टासम्म बजार राताम्य भएको थियो । त्यसपछि सुधारको निरन्तर प्रयासले नेप्सेलाई हरियो बनाएको हो । नेप्से बढ्दा लगानीकर्ताको कूल सम्पत्ति ८ अर्ब रुपैयाँले बढेको छ । मंगलबार कारोबार समाप्तिसम्म २८ खर्ब ६३ अर्ब ३० करोड कायम भएको बजार पुँजीकरण बुधबार २८ खर्ब ७१ अर्ब २७ करोड पुगेको हो ।

Back to top button