
विर्तामोड । झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् ।
कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज ५८ हजार ६ सय ८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले बताउनुभयो ।
कैदीबन्दीले दैनिक सिदाबापत ८० पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्प पीडितलाई सहयोग दिइएको हो । झापा कारागारमा हाल १ हजार ५ सय ६० जना कैदीबन्दी रहेका छन् ।
यसैगरी, विर्तामोड नगरपालिकाले भूकम्प पीडितको सहयोगार्थ ५ लाख सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताउनुभयो ।