यी हुन् २ पटक ओडीआई विश्वकप जित्ने अष्ट्रेलियाका ७ खेलाडी

काठमाडौं । भारतलाई उसैको मैदानमा ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले छैटौं पटक ओडीआई विश्वकपको उपाधि जितेको छ । यो कीर्तिमानी जित हो ।

आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बलिङ, फिल्डिङ र ब्याटिङ सबैमा उत्कृष्ट प्रदर्शन गरेको अष्ट्रेलियाले ट्राभिस हेडको १ सय ३७ रनको मद्दतमा २ सय ४१ रनको लक्ष्य ७ ओभर अगावै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

अष्ट्रेलियाले विश्वकपमा कीर्तिमानी जित निकाल्दा टिमका ७ खेलाडीले पनि व्यक्तिगत उपलब्धि हासिल गरेका छन् । उनीहरुले २ पटक ओडीआई विश्वकप जित्ने उपलब्धि हात पारे । स्टिभ स्मिथ, डेविड वार्नर, ग्लेन म्याक्सवेल, मिचेल मार्स, मिचेल स्टार्क, जोस हेजलउड र कप्तान प्याट कमिन्सले २ विश्वकप जित्नुभएको हो ।

अष्ट्रेलियाले यसअघि सन् २०१५ मा घरेलु मैदानमा ओडीआई विश्वकप जितेको थियो । त्यस बेला यी ७ खेलाडी टोलीमा थिए । तर, मार्स र कमिन्सले प्लेअइङ ११ मा पर्नुभएको थिएन् । यस पटक भने यी सातै खेलाडीले भारतविरुद्ध फाइनल खेले ।

२०१५ को फाइनलमा स्टिभ स्मिथले ५६ र वार्नरले ४५ रन बनाउनुभएको थियो । यसपटक भने वार्नर ७ र स्मिथ ४ रनमा आउट हुनुभयो । यस्तै २०१५ मा म्याक्सवेलले ब्याटिङ गर्नुपरेन भने यस पटक २ रनमा अविजित रहनुभयो । म्याक्सवेलले दुवै फाइनलमा समान १ विकेट पनि लिनुभएको थियो ।

यस्तै, स्टार्कले २०१५ को फाइनलमा २ विकेट लिनुभएको थियो भने यस पटक ३ विकेट लिनुभयो । २०१५ को फाइनलमा विकेटविहीन बन्नुभएका हेजलउडले यस पटक २ विकेट लिनुभयो ।

ओडीआई विश्वकप २०२३ मा सहभागी खेलाडी । जहाँ २०१५ मा विश्वकप जित्ने ७ खेलाडी सहभागी छन् । यी सात बाहेक भारतलाई हराउने टिममा ट्राभिस हेड, मार्नुस लाबुसचेन, एडम जाम्पा र विकेटकिपर जोस इङ्गलिस हुनुहुन्थ्यो ।

चोटका कारण सुरुको ५ खेल नखेल्नुभएका हेडले फाइनलमा भारतविरुद्ध शतक नै बनाउनुभयो । उहाँले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अर्धशतक बनाउनुका साथै २ विकेटसमेत लिनुभएको थियो । सेमिफाइनल र फाइनल दुवैमा उहाँ म्यान अफ दि म्याच बन्नुभयो ।

यस्तै, इन्जुरी रिप्लेसमेन्टको रुपमा अन्तिम मसमया टिममा पर्नुभएका लाबुसचेनले पनि फाइनलमा अर्धशतक बनाउनुभयो । अष्ट्रेलियन टिमको एक्लो विशेषज्ञ स्पीनर जाम्पाले २३ विकेट लिँदै सर्वाधिक विकेट लिनेमा दोस्रोमा रहनुभयो । भारतका मोहम्मद सामीले सर्वाधिक २४ विकेट लिनुभयो ।

Back to top button