
बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ११ः३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
पटक पटकको पराकम्पबाट त्रसित स्थानीयहरु आज पनि भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन् । बझाङ लगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गते गएको भुकम्पपछि निरन्तर पराकम्प गइरहेका छन् ।
भूकम्पका कारण घरबारविहीन बाजुराका भूकम्पपीडित चिसोले बिरामी पर्न थालेका छन् । पालमा बस्नुपर्ने बाध्यताले विशेषगरी वृद्धवृद्धा र बालबालिका चिसोबाट प्रभावित भएका छन्।
बाजुरामा सबैभन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा भएको छ । त्यहाँको ९ सय ८९ घरमा पूर्णरूपमा क्षति भएको भएपनि सबैलाई पाल व्यवस्थापन गर्न समस्या भएको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताउनुभयो । केही संघ संस्थाहरूले थोरै थोरै राहत साम्रगी र पालहरू दिएका भएपनि यहाँँका नागरिकको आवश्यकताअनुसार दिन नसकिएको उहाँले बताउनुभयो।
घर भत्किएका नागरिकलाई सामान्य पालहरू दिएको भएपनि घर चर्किएका नागरिक भने खुला ठाउँमै बस्दै आएका र उनीहरूलाई केही पनि राहत दिन नसकेको अध्यक्ष रावतले बताउनुभयो। गाउँपालिकामा धेरै घर भत्किएका छन् र नभत्किएका पनि पूरै चिराचिरा भएकाले बस्न लायक नभएको अध्यक्ष रावतको भनाइ छ ।
भूकम्पको परकम्पले बाजुराका ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याकंमा उल्लेख छ । बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ । भूकम्पले बाजुरामा १३ सय ८३ घर पूर्णरूपमा क्षति भएका छन्। यस्तै, आंशिक रूपमा ५ हजार २९ र ७ सय १८ जोखिममा परेका घरसहित गरेर ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासनको तथ्यांक छ।
पूर्णरूपमा सबैभन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर, बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढीगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पूर्णरूपमा क्षति भएको छ । गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।