
काठमाडौं । फिफा विश्वकप र एएफसी एसिया कपको छनोट चरणको दोस्रो खेलमा नेपालले भोलि (मंगलबार) यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र यमनबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलि साँझ ७ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। फिफा वरियतामा यमन १ सय ५६औं स्थानमा छ भने नेपाल १ सय ७३औं स्थानमा रहेको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमले अर्को चरण पुग्नका लागि खेल जित्नैपर्ने भएकाले शतप्रतिशत दिएर खेल्ने जनाएको छ ।
आज काठमाडौंमा आयोजित प्रि.म्याच कम्फ्रेन्समा प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अंक जोड्नका लागि नेपाललाई उक्त खेल निकै महत्वपूर्ण रहेको बताउनुभयो। यमन नेपालभन्दा बढी टिम रहेपनि सम्पूर्ण ध्यान खेलमा केन्द्रित गर्दै उत्कृष्ठ खेल प्रर्दशन गर्ने उहाँले बताउनुभयो।
यस्तै, कप्तान किरण लिम्बुले खेलका लागि राम्रो तयारी भएको र जित हासिल गर्नेगरी मैदान उत्रने बताउनुभयो । घरेलुमा खेल खेल्न पाउँदा निकै उत्साहित रहेको र केही दबाब हुनु स्वभाविक रहेको उहाँले बताउनुभयो । छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ४–० ले पराजित भएको थियो ।
यमनसँगको खेलका लागि एन्फाले साधारण पाराफिटतर्फ ४ सय र भिआइपी पाराफिटतर्फ १ हजार टिकट दर कायम गरेको छ । प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले जनाएको छ ।