बरामद वस्तु नष्ट गर्ने मोरङ प्रहरीको ‘वातावरणप्रति असंवेदनशील’ उपाय

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले तिहारको समय विभिन्न स्थानबाट बरामद गरेको पटका लगायत बिष्फोटक पदार्थहरु प्रहरी कार्यालयको परिसरमा खाल्डो खनेर पुरेको भिडियो सामाजिक संजालमा पोस्ट गर्यो। ‘डिपीओ मोरङ’ नामक फेसबुक आइडी बाट पटका नष्ट क्याप्सन राखेर कार्तिक २२ गतेको गतिविधि भन्दै पोस्ट गरिएको भिडियोमा प्रहरी कार्यालयको कर्मचारीहरुले पटकालाई बाहिर बाट बेहेरिएको प्लास्टिक सहित खाल्डो खनेर पानीमा पुरेको देख्न सकिन्छ । ठूलै मात्रामा पटका लगायत विस्फोटक वस्तु नष्ट गरेको कार्यालयले पानीमा समेत ‘नकुहिने ‘ प्लास्टिकको समेत बेग्लै व्यस्थापन नगरेर सोहि खाल्डोमा पुरेको देख्न भिडियोमा सकिन्छ।

***
ईलाका प्रहरी कार्यालय रानीले कार्तिक २५ गते ‘एपीओ रानी मोरङ ‘ लेखिएको फेसबुक आइडी बाट आर्थिक बर्ष २०८०/८१ मा रानी कार्यालयले बरामद गरेको गाँजा लगायत लागुऔषध सामग्रीहरु विराटनगर वडा नं ६ स्थित फोहरमैला थुपार्ने गरिएको ‘डम्पिंग साइट’ मा आगो लगाएर नष्ट गरेको तस्बिरहरु पोस्ट गर्यो । रानीका कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्दिप बेलबासे स्वयम् उपस्थित रहेर अदालती प्रक्रिया पुर्याएर नष्ट गरिएको गाँजा लगायत लागुऔषधको मात्रा करिब ३ सय ५० भन्दा बढी रहेको रानी प्रहरी कार्यालयले जनाएको छ । ठुलो मात्राको वस्तु नष्ट गर्न रानीले सो साइटमा ठूलो मालबाहक गाडीमा प्रयोग हुने गरेको खराब अवस्थाको रबरको चक्काको मदतले आगो बालेर लागुऔषधलाई बाहिर बाट बेहेरिएको प्लास्टिक र लागुऔषध राख्न प्रयोग गरिएको प्लास्टिकको बोरा सहित आगोमा हालेको तस्बिर सम्प्रेषण गर्यो।

***
माथिको दुई घटनालाई आफ्नो औपचारिक सामाजिक संजालमा सम्प्रेषण गरेको नेपाल प्रहरीको जिल्ला तथा ईलाका प्रहरी कार्यालयले बरामद गरिएको वस्तु नष्ट गर्न भने’ प्रदुषणयुक्त उपाय’ गरेको देखिन्छ। जिल्ला प्रहरी कार्यालय रानीले बरामद गरेको पटका लगायत विस्फोटक वस्तुहरु नष्ट गर्न सो वस्तुलाई पानीमा पुरेर नष्ट गर्ने प्रचलन रहेको तर सो वस्तुहरु सँग नकुहिने वस्तुहरु भने एक्कै खाल्डोमा पुर्नुले भने प्रहरीले नजानिँदो किसिमले प्रदुषणयुक्त उपायलाई अबलम्बन गरेको देखिएको छ।

अझ , ईलाका प्रहरी कार्यालय रानीले गाँजा तथा लागुऔषधजन्य पदार्थहरु प्लास्टिक र रबर लगायत वस्तुसँगै आगो लगाउदा त्यसले हावा समेत प्रदुषित गर्ने हुँदा त्यसले जनस्वास्थ्यमा समेत असर पर्ने जानकारहरु बताउछन्।

नेपाल सरकारको वातावरण सम्बन्धी ऐन वातावरण संरक्षण ऐन , २०७६ को दफा १५ मा समेत कसैले जनजीवन , जनस्वास्थ्य एवम वातावरणमा उल्लेखिनीय प्रतिकूल प्रभाव पर्ने गरि प्रदुषण गर्न र गराउन नहुने र कोशी प्रदेश सरकारको कोशी प्रदेश वातावरण संरक्षण ऐन , २०७६को उपदफा १६ मा समेत जनस्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पर्ने काम गर्न नहुने व्यवस्था रहेकोमा नेपाल सरकारको प्रतिनिधिको रुपमा समाजमा रहने नेपाल प्रहरीले नै त्यस्तो गतिविधि गर्दा जनताको वातावरण सम्बन्धी मौलिक हकलाई समेत आघात पुग्ने जानकारहरु बताउछन्।

नेपाल प्रहरी कोशी प्रदेश कार्यालयका निमित्त प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल दाहालले प्रहरीले बरामद गर्ने वस्तु नष्ट गर्नु पर्ने नियम अनुसार प्रचलित उपाय प्रयोग गर्दै नष्ट गर्ने गरेको बताउनु भयो। दाहालले कार्यालयहरुले कानुन अनुसार बरामद गरिएको वस्तु नष्ट गर्ने गरेको तर हालैको (दुई ) घटनाहरुले प्रहरी वातावरण सम्बन्धी अलि बढी सचेत रहनु पर्ने बताउदै भविष्यको सो बिषयमा विचार पुर्याउने जानकारी दिनु भयो। दाहालले प्रहरीले पनी अन्य सर्वसाधारण जस्तै वातावरण सम्बन्धी नियम मान्न बाध्य रहेकोले भबिष्यमा गल्ती नदोहरिने बताउनु भयो।

नेपाल प्रहरीले बरामद गरेको विभिन्न वस्तुहरु विभिन्न तरिकाले नष्ट गर्ने गरेको भए प्रहरी संगठन भित्र वातावरणलाई असर नपुर्याई नष्ट गर्नु पर्ने सम्बन्धी कुनै निर्देशिका नरहेको र कार्यालय र स्थान अनुसार अधिकृतको तजबिज उपायमा नष्ट गर्ने गरिएको छ।

Back to top button