
वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवं पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गर्नुभएको छ । पर्साको पोखरियामा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गर्नुभयो ।
नेता रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्यविना देवीलगायत विभिन्न पार्टीका सयौं नेता–कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयो ।
नेता रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित हुनुभएको थियो । उहाँ निर्माण व्यवसायी समेत हो । पछिल्लो २ वर्षमा पर्सामा विभिन्न दलका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेसँगै त्यहाँका करीब एक तिहाइ स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभामा एमालेले बलियो उपस्थिति जनाएको छ ।