अर्जेन्टिनासँग ब्राजिल पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेको छ ।

ब्राजिलको घरेलु मैदान माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस ओटामेन्डीले ६३औं मिनेटमा एक मात्र गोल गर्नुभयो । उहाँले जिओभानी लो सेल्सोको पासमा गोल गर्नुभयो ।

८१औं मिनेटमा जोएलिन्टनले रातो कार्ड पाएपछि ब्राजिल दश खेलाडीमा समेटिएको थियो । दक्षिण अमेरिकी क्षेत्रको छनोटमा पाँचौ जितपछि अर्जेन्टिना खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमै यथावत छ ।

ब्राजिलको भने यो लगातार दोस्रो हार हो । यसअघि ब्राजिल कोलम्बियासँग पराजित भएको थियो । हारपछि ६ खेलबाट ७ अंक मात्र रहेको ब्राजिल छैटौं स्थानमा झरेको छ । छनोटकै अन्य खेलमा उरुग्वेले बोलिभियालाई ३–० ले तथा कोलम्बियाले पाराग्वे र इक्वेडरले चिलीलाई समान १–० ले हरायो ।

जितपछि उरुग्वे ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको कोल्मबिया तेस्रो स्थानमा छ । इक्वेडरको ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

Back to top button