धरपकड र नजरबन्द अलोकतान्त्रिक रहेको अध्यक्ष लिङ्देनको धारणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत हुने टिप्पणी गर्नु भएको छ । लिङ्देनले आज सामाजिक सञ्जालमा लेख्दै शान्तिपूर्ण भेलामा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि टिप्पणी गर्नु भएको हो।

लिङ्देनले लेख्नु भएको छ ,‘ शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौँमा भइरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन्। धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन। सरकारले आफूलाई तत्काल सच्याओस् ।’

बिहीबार प्रसाईंले तीनकुनेबाट प्रदर्शन गर्ने बताएपछि बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरेर धरपकड गरिएको छ । भक्तपुरस्थित प्रसाईंको निवास अगाडी समेत प्रहरी परिचालित गरिएको छ ।

Back to top button