भट्टराई चढेको गाडी तोडफोड गरेकोमा एमाले कोशी कमिटीको घोर भत्सर्ना , सरकारले अराजकतालाई प्रशय दिएको आरोप

विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीले पहिचानको नाममा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराई चढेको गाडी तोडफोड गरेको प्रति घोर भत्सर्ना प्रकट गरेको छ। हिजो ताप्लेजुंगमा एमालेको जिल्ला कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी जनाउन पुग्नु भएकोमा पहिचान पक्षधरहरुले भट्टराई सवार गाडीमा तोडफोड गरेको र कार्यक्रममा सहभागीहरु माथि हातपात गरेको भन्दै कमिटीले वक्तव्य जारी भत्सर्ना प्रकट गरेको हो।

एमालेको कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षार गर्नु भएको वक्तव्यमा पहिचान पक्षधरको गैरजिम्मेवार , आपत्तिजनक र अराजक गतिविधि नियन्त्रण गर्दै कानुनी राज्य , विधिको शासन र सैवधानिक अधिकारको प्रत्याभूति गर्न सरकारसँग अपिल समेत गरेको छ।

एमालेले प्रदेशको नामकरणको सवालमा प्रदेश सभाको दुई तिहाई भन्दा बढी सदस्य एकै स्थानमा रहेर नामाकरण गरेको तर अहिले पहिचान पक्षधरहरुले एमालेका नेता-कार्यकर्ता माथि हमला भैरहँदा र सरकारले सो हमला रोक्न केहि पहल नगर्दा सरकारकै प्रशयमा एमाले माथि हमला हुने गरेको आरोप पनि लगाएको छ।

एमालेले सरकारले अराजकता रोक्न थप पहल नगरेमा एमालेले स्वयम् आफ्नो प्रतिरक्षा गर्ने र उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी समेत दिएको छ।

Back to top button