कोरोनाबाट नेपालमा पहिलो मृत्यु हुने सावित्रीका छोरालाई निःशुल्क पढाइदिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमिल्सना चालिसेका छोरालाई निःशुल्क पढाइदिने हुनुभएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिन लाग्नुभएको हो ।

वि.स.२०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल ९ दिनका मात्र थिए । अहिले ३ वर्ष नाघेसँगै मन्त्री बस्नेतले आज काठमाडौंको टोखा नगरपालिका वडा नं ९ गोंगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिनुभएको छ । उहाँले चालिसेको छोरा सफलको पठन–पाठनको खर्चस्वरुप आज ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो।

रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताउनुभयो। मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताउनुभयो। उहाँले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क बाँडेको समेत उहाँले स्मरण गर्नुभयो।

मृतकका पति विमल चालिसेले कोरोनाबाट आफ्नो श्रीमतिको ज्यान जाँदा मन्त्री बस्नेतले छोराको पढाईको जिम्मा लिएर मानवीय सहयोग गरेका भन्दै आभार व्यक्त गर्नुभयो।

Back to top button