आज १८७६ विन्दुमा झर्‍यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से आज १८७६ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १७ दशमलव ९३ अंक घटेको हो ।

नेप्से अलवा कारोबार रकम पनि घटेको छ, अघिल्लो दिन १ अर्ब २८ करोडको कारोबार भएकोमा आज बुधबार १ अर्ब १ करोड रुपैयाँमा खुम्चियो ।

कुल ४२ कम्पनीको मूल्य बढ्दा १९० को घट्यो भने ७ को स्थिर रह्यो । यस दिन सबै क्षेत्रका सूचकहरु घटेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २ दशमलव १३ प्रतिशत घट्यो ।

अंकका आधारमा बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स २१, होटल तथा पर्यटन ५५, जलविद्युत् २८, जीवन बीमा १५९, उत्पादन १०६, माइक्रोफाइनान्स ८, निर्जीवन बीमा १५४ र ब्यापार उपसमूह २९ अंक घटे । अन्य उपसमूह भने जम्मा २ अंक बढ्यो ।

यस दिन विजय लघुवित्तको मूल्य सबैभन्दा धेरै ९ दशमलव ८ प्रतिशत बढ्यो । अपरहेवाखोलाको ३ दशमलव १ तथा समाज लघुवित्तको मूल्य १ दशमलव ९ प्रतिशत बढ्यो । त्यस्तै बुद्धभूमि हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । अभियान लघुवित्तको ७, माहुली लघुवित्तको ५ दशमलव ३, स्वेतगंगा हाइड्रोपावरको ५ दशमलव २ तथा युनिलिभर नेपालको ५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक संस्थापक, सोल्टी होटल क्रमशः अगाडि रहे ।

आज प्राविधिक कारणले सेयर बजार बिहान ११ बजेर २४ मिनेटमा मात्रै खुलेको थियो । जसले गर्दा नेप्सेले कारोबार अवधि ३ बजेर २४ मिनेटसम्म कायम गरेको थियो ।

Back to top button