बैंकहरुले बढी ब्याज लिएको भए उजुरी गर्नुस् : भर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले बढी ब्याज लिएको भए उजुरी गर्न आह्वान गर्नुभएको छ ।

बाहिर हल्ला गरेर अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन उहाँले आह्वान गर्नुभएको हो ।

आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने आश्वासन दिनुभयो ।

गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको अधिकारीले बताउनुभयो । केहीले नेताहरु भेट्दै १६–१८ प्रतिशत ब्याज बैंकले लिएको भन्दै हिँड्ने गरेको भन्दै उनले सो दरको ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गर्नुभयो ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा केही पर सर्नुमा थप डाटा पर्खिरहेको उहाँले बताउनुभयो । अर्थमन्त्री र गर्भनर बीच सम्बन्धमा कुनै समस्या नरहेको उहाँले स्पष्ट पार्नुभयो । ‘बजेटमा भएको कुन बिषयमा राष्ट्र बैकले सहयोग गरेको छैन?’ उहाँले भन्नुभयो,‘राष्ट्र बैंकले सरकारसँग समन्वयात्मक रुपमा काम गरिरहेको छ ।’

पछिल्लो समय आर्थिक शिथिलताका कारण खराब कर्जा बढेको उल्लेख गर्दै गभर्नर अधिकारीले खराब कर्जा बढेकै कारण अहिले लाभांशमा कडाइ गर्नु परेको बताउनुभयो । रिपेमेन्टका कारण केही व्यवसायीमा समस्या परेको उहाँले स्वीकार गर्नुभयो ।

ऋण लिएपछि तिर्ने योजना पनि बनाउनु पर्ने भन्दै उहाँले भन्नुभयो,‘घाँटी हेरेर हाड निल्नु पर्छ नि १’

अर्थतन्त्रमा उतारचढाव संसारभर आउने गरेकाले यसलाइ सबै मिलेर चिर्नुपर्ने उहाँको भनाइ छ ।

Back to top button