स्कुल बसको ठक्करबाट रुपन्देहीमा दुई जनाको मृत्यु, बसमा आगजनी

रुपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर– ४ महुवारी स्थित ककरहवा सडक खण्डमा विहान स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् ।  सूर्यपुरा– ३ मा रहेको सिद्धार्थ बोर्डिंङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि स्थानीयले स्कुलबसमा आगो लगाएका हुन् । बस पूर्ण रुपमा क्षति भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार स्थानीय २१ वर्षीय मोहम्मद ईरसाद र १६ वर्षिया रुविना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही ठाउकै १७ वर्षीया अप्सना खातुन घाइते हुनुभएको छ । उहाँको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटनापछि बस चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ। अहिले स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

Back to top button