चुनाव जित्ने नाममा मान्छे मार्ने सम्मको घिनलाग्दो संस्कृति विकास भयो : एमाले अध्यक्ष ओली

अछाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने नाममा मानिस मार्ने सम्मको घिनलाग्दो संस्कृति विकास भएको बताउनुभएको छ।

समृद्धिको लागि संकल्प यात्रामा निस्किएका अध्यक्ष ओलीले आज अछामको विनायकमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जित्नको लागि मानिस मार्न समेत पछि नपर्ने संस्कृति अपराध मात्र नभएर अति घिनलाग्दो संस्कृति भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘एउटा मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो।’

अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद व्यक्त गर्नुभयो । एउटा होनहार युवाको हत्या गरेर अत्यन्तै घिनलाग्दो काम गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘म विनोद शाहीलाई शहीद घोषणा गर्दछु ।’

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय शाही ०७९ जेठ २१ गते मृत अवस्थामा भेटिनुभएको थियो । जेठ १७ गते बेपत्ता पारिएका अनेरास्ववियुका कार्यकर्ता शाहीको शव जेठ २१ गते भिरबाट खसालिएको अवस्थामा फेला परेको थियो ।

अध्यक्ष ओलीले सरकारमा हुँदा पनि एमालेले यस्ता कुरालाई हतोत्साहित गरेको बताउनुभयो। उहाँले भन्नभयो,‘हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैन, जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या हिंसाका शृङ्खलाहरू सुरु हुन्छन्, जाली मुद्दा लगाउने सिलसिला सुरु हुन्छ, हत्यारा उम्काउने सिलसिला सुरु हुन्छ।’

पञ्चदेवल जस्तो पवित्र ठाउँ कुनै पनि अपराध गर्ने र अपराधी लुक्ने ठाउँ हुनु नहुने ओलीले बताउनुभयो । यसको लागि स्थानीयलाई सतर्क र सजग हुन पनि उहाँले आग्रह गर्नुभयो।

अहिलेको सरकारले हत्यारालाई माफी दिने र मुद्दा चलाउन नमान्ने र चलाई हाल्यो भने पनि मुद्दा फिर्ता लिने काम गरेको ओलीले बताउनुभयो। अदालतले सर्वश्व हरण सहित जन्म कैद गरेकालाई तुरुन्त मुद्दा फिर्ता लिने काम सरकारले गरेको भन्दै ओलीले आलोचना गर्नुभयो।

उहाँले भन्नुभयो,‘अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौ भनेर फेरि जेलमा हालिराखेको छ ।’

यस्तै, नेकपा एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको छ । यात्राका क्रममा मध्यपहाडको समस्या र विकासको सम्भावना पहिचान गर्ने एमालेले जनाएको छ ।

Back to top button