कोशीका ३ जानै मन्त्रीले पाए जिम्मेवारीः राई आन्तरिक मामिला, उप्रेती पर्यटन र जबेगूलाई भौतिक पूर्वाधार

विराटनगर । कोशी प्रदेशका ३ जना मन्त्रीहरुलाई मन्त्रालय तोकिएको छ । लामो समयदेखि बिनाविभागीय रहेका मन्त्रीहरुले बल्ल मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रीहरुका लागि आज मन्त्रालय तोकिदिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार शम्शेर राईले आन्तरिक मामिला तथा कानुन, गणेशप्रसाद उप्रेतीले पर्यटन, वन तथा वातावरण र कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले राईलाई असोज २८ गते तथा उप्रेती र जबेगूलाई कात्तिक १७ गते बिनाविभागीय मन्त्री बनाउनुभएको थियो ।

मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरु हालसम्म बिनाविभागीय नै थिए । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय भने मुख्यमन्त्री कार्कीले आफैंसँग राख्नुभएको छ ।

मन्त्री बन्नुभएकामध्ये राई नेपाली कांग्रेस, उप्रेती नेकपा (माओवादी केन्द्र) र जबेगू नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित प्रदेशसभा सदस्य हो । उहाँहरुलाई मन्त्रालयको जिम्मेवारी दिएपनि कोशी प्रदेशमा सरकार विस्तार भइसकेको छैन । सरकार विस्तार गर्न केही दिन समय लाग्ने मुख्यमन्त्रीनिकट स्रोतले बतायो ।

Back to top button