प्रहरीको फरार प्रतिवादी खोजि अभियानः दुई दिनमा थप १० जना पक्राउ

विराटनगर । फरार प्रतिवादीहरुको खोजी अभियान तिब्र पारेको जिल्ला प्रहरी कार्यालय मोरङले पछिल्लो दुई दिनमा विभिन्न अपराधमा सजाँय पाई फरार भएका थप १० जनालाई पक्राउ गरेको छ ।

मोरङ जिल्ला अदालतको विभिन्न मितिको फैसलाले लागुऔषध, आसय करणी, विना ईजाजत वन पैदवार कसूरमा दोषी ठहर भई फरार रहेकाहरुलाई ईलाका प्रहरी कार्यालय उर्लाबारी, केराबारी र विराटचौकबाट खटिएको प्रहरी टोलीले मंसिर १५ र १६ गते थप १० जनालाई पक्राउ गरि मोरङ जिल्ला अदालतमा पेश गरिएको मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले बताउनुभएको छ ।

प्रहरी नायब उपरीक्षक प्रवक्ता दाहालका अनुसार लागु औषध मुद्दामा दोषि ठहर भएका जनकराम कामी, सुजन रानामगर, नविन पुरी, रूपेश तामाङ, करण मगत र विपन लिम्बु रहेका छन् ।

यस्तै विना ईजाजत वन पैदावर मुद्धामा दोषी ठहर भएका टेक बहादुर श्रेष्ठ, रोविन कुमार घिमिरे र मेखबहादुर तामाङ सहित आसय करणी मुद्दाका दोषी गोपाल मगरलाई समेत पक्राउ गरि प्रहरीले अदालतमा बुझाएको हो ।

अदालतबाट भएका फैसलाहरूको प्रभावकारी कार्यान्वयन गरी दण्डहिनता अन्त्य गर्ने अभियान अन्तर्गत प्रहरीले आर्थिक वर्ष २०८०/०८१ मा हाल सम्म २०७ जना फरार प्रतिवादीहरूलाई जिल्ला अदालतमा बुझाई ५३ बर्ष ३ महिना २९ दिन कैद र रू ३६ लाख ४ हजार ४ सय २४ रुपैयाँ जरिवाना अशुल गरेको उल्लेख गरेको छ ।

Back to top button