मोरङ व्यापार संघमा दुई पूर्वमन्त्रीसँग आर्थिक बिषयक अन्तरक्रिया सम्पन्न

विराटनगर। मोरङ व्यापार संघमा दुई पूर्वमन्त्रीसँग ‘मुलुकको वर्तमान अवस्था र अब निकास’ बिषयक आर्थिक अन्तरक्रिया सम्पन्न भएको छ । व्यापार संघको सभाहलमा सम्पन्न अन्तरक्रियामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा मिनेन्द्र रिजाल र नेकपा एमाले आर्थिक विभाग सदस्य तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासँगको अन्तरक्रिया सम्पन्न भएको हो।

अन्तरक्रियामा बोल्दै डा रिजालले हाल मुलुकले आर्थिक रुपमा केहि कठिनाई महसुस गरेको र त्यसबाट निस्किन कदम चलिरहेको देखिए पनि जनतामा व्याप्त निराशा चिर्न भने असफल हुँदै गएको बताउनु भएको थियो। रिजालले जनताले देशका तीन प्रमुख नेतालाई एक अर्कामा जो सँग मिलेर भए पनि देश बनाउ भनिरहँदा पनि शिर्षनेताहरु असफल भएकोले जनतामा निराशा छाएको बताउनु भएको थियो।

डा खतिवडाले हालको देशमा देखिएको आर्थिक समस्याको निराकरणको लागि राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री एक ठाउँमा बसेर समाधान हुने सम्भावना रहेकोले सो कदम चाल्न सुझाव दिनु भएको थियो। खतिवडाले देशको आर्थिक अवस्था संकटउन्मुख रहेको अवस्थाबाट हाल निस्किसकेकोले धेरै निराश नहुनु पर्ने बताउनु भएको थियो। नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर समेत रहनु भएको खतिवडाले हाल देशमा केहि बचत तथा ऋण सहकारी र लघुबित्त समस्या देखिएको भन्दैमा सम्पूर्ण सहकारी र लघुबित्त क्षेत्रमा प्रश्न उठाउनु उचित नहुने समेत बताउनु भएको थियो।

कार्यक्रममा व्यापार संघका अध्यक्ष नविन रिजालले सरकारले हाल सम्म उद्योगीको पिडा सुन्न नसकेको बताउदै सरकारको उद्योग क्षेत्र प्रतिको रवैयाले गरेर धेरै संख्यामा उद्योगीहरु पलायन हुने सम्भावना समेत रहेको बताउनु भएको थियो। व्यापार संघको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण पत्रकार अभय कुमार राईले गर्नु भएको थियो।

Back to top button