सुन्दरहरैंचा नगर अस्पतालमा आँखाको जाँच सुरु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको हरैंचामा रहेको नगर अस्पतालले आजबाट आँखाको उपचार सेवा प्रारम्भ गरेको छ । विराटनगर आँखा अस्पतालको सहयोगमा आजबाट नगर अस्पतालमा आँखाको उपचार सेवा सुरु भएको हो ।

सुन्दरहरैंचा वडा नं १ का वडा अध्यक्ष राम विश्वास खवासको अध्यक्षतामा सुन्दरहरैंचा नगरप्रमुख केदार गुरागाई, उपप्रमुख अकली चौधरी तथा विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदम नारायण चौधरीले संयुक्त रूपमा आँखा जाँच सेवाको उद्घाटन गर्नुभएको हो ।

नगरवासीहरूको आँखामा देखिएको समस्याको समाधानका लागि आँखा जाँच सेवा केन्द्र स्थापना गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाईले बताउनुभयो । उहाँले नगर अस्पतालको अस्तित्व सबै मिलेर बचाउँन जरूरी रहेको भन्दै अस्पतालले दिने सुविधामा कुनै कमी नरहेको उल्लेख गर्नुभयो ।

हरैंचा नगर अस्पताल प्रशासन शाखा प्रमुख बाबुराम भट्टराईले आँखा जस्तो संवेदनशील विषयलाई सुरक्षित राखेर विरामीलाई स्थानीय स्तरमै सहज रूपमा सेवा दिन आँखा जाँच सेवा नगरअस्पतालमा प्रारम्भ गरिएको बताउनुभयो । उहाँले नगर अस्पतालमा आँखा जाँच सेवाको लागि दक्ष जनशक्ति विराटनगर आँखा अस्पतालले व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।

नगर अस्पतालमा विशेषज्ञ सहितको वहिरङ्ग सेवा (ओपीडी), ल्याब, एक्सरे, भिडियो–एक्सरे लगायतका सेवा दिदै आएको थियो । यस नगर अस्पतालमा सुन्दहरैचा वाहेक बेलबारी तथा ग्रामथानका विरामीहरु समेत सेवा लिन आउने गरेका छन् ।

Back to top button