![](https://koshisandesh.com/wp-content/uploads/2023/12/mahat.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2023/12/mahat.jpg)
भरतपुर । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रले लय समाउन थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स)बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।’
उहाँले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताउनुभयो । अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उहाँले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताउनुभयो ।
भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उहाँले त्यसको प्रतिफल आउन ढिला भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ ।’ ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको उहाँको भनाइ छ ।