एमाले अध्यक्ष ओलीद्वारा भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको अवलोकन, गुणस्तरमा सम्झौता नगर्न आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काम यथाशिघ्र सम्पन्न गर्न सबैको ध्यान जानुपर्ने बताउनुभएको छ ।

‘झुलाघाट– चिवाभञ्ज्याङ’ समृद्धिको यात्रामा रहनुभएका अध्यक्ष ओलीले निरिक्षणको क्रममा यस्तो बताउनुभएको हो । उहाँले तीन वर्षअघि नै टनेल निर्माणको काम भएको भए पनि भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको बताउनुभयो ।

आफ्नो पालामा टनेलको ब्रेक थ्रु गरिएको भएपनि अहिले आएर कामले गति लिन नसकेको भन्दै उहाँले जति चाँडो काम सम्पन्न हुन्छ, त्यति नै चाँडो किसानले लाभ पाउने बताउनुभयो । उहाँले निर्माणको काममा खट्ने कर्मचारीहरूलाई धन्यवाद दिँदै निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नगर्न समेत आग्रह गर्नुभयो ।

उक्त आयोजना प्रकृतिसँगको कारोबार भएको तर्क गर्दै उहाँले भन्नुभयो,‘सानो लापरबाहीले पनि ठूलो क्षति हुने भएकोले कामको गुणस्तरमा सम्झौता गर्नु हुँदैन ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ वैशाख ३ गते मंगलबार ब्रेक थ्रु गरिएको थियो । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालिको संयुक्त निर्माणमा आयोजनाको काम भएको हो ।

सो आयोजना निर्माण भएपछि बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ । आयोजनाबाट ४६.८ मेगावाट विद्युत् समेत उत्पादन हुने छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लामा सिँचाई सुविधा पुर्‍याउने सो आयोजनाको लक्ष रहेको छ । सो आयोजनाको सुरुङको लम्बाइ १२ हजार मिटर रहेको छ ।

आयोजना स्थलमा अध्यक्ष ओलीसँगै नेकपा एमालेका केन्द्रीय पदाधिकारी तथा नेताहरू पुग्नु भएको थियो । उहाँहरूले निर्माणमा भएको प्रगतिको बारेमा पनि जानकारी लिनुभएको थियो ।

Back to top button