पक्राउ पुर्जीविरुद्ध विप्लवद्वारा आन्दोलन घोषणा

काठमाडौं । महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा हिजो ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि आज नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

विप्लवको हस्ताक्षरमा जारी विज्ञप्तिमा पक्राउ पुर्जी जारी हुनु २१ फागुन २०७७ मा आफूसँग सरकारले गरेको ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भइरहेका पहलमाथिको विध्वंसात्मक हमला समेत भएको उल्लेख छ ।

सरकारसँग गरिएको ३ बुँदे सहमतिको एउटा बुँदामा पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने रहेको विज्ञप्तिमा स्मरण गरिएको छ ।

राज्यसँग भएका सहमतिलाई कानुनको अंग बनाएर समस्या समाधानमा गर्न मद्दत गर्नुपर्ने अदालतले नै गैर कानुनी कदम चालेको भन्दै विज्ञप्तिमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको आशंका गरिएको छ ।

पक्राउ पुर्जीविरूद्ध नेकपाले आजदेखि ३ दिने संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ । १९ गते साँझ मसाल जुलुस गर्ने, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने नेकपाले घोषणा गरेको छ ।

Back to top button