प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

महोत्तरी । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरीको बर्दिबास आइपुग्नुभएको छ ।
प्रचण्ड आज  बिहान ९ बजेदेखि बर्दिबास–४ माइस्थानमा दलको तीन महिने रूपान्तरण अभियानको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी रहेको माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलले बताउनुभयो ।
उहाँले बैठकमा मधेस प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य, जिल्ला इन्चार्ज र रूपान्तरण अभियानका जिल्ला संयोजकबीच अभियानारे समीक्षा भइरहेको जानकारी दिनुभयो ।
प्रदेशका ८ वटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इन्चार्जबाट जानकारी लिएपछि प्रचण्डले थप निर्देशन दिनुहुने छ । अध्यक्ष प्रचण्ड आजै दिउँसो जिल्लाको गौशाला–५ स्थित बहूद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुने छ ।
प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरू, जिल्ला अध्यक्षसहित १ हजार ८ सय नेता सहभागी हुनेछन् । सो कार्यक्रम सकिएपछि प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

Back to top button