९ वर्षीय बालकको ओलीलाई चिठ्ठीः रोजगारीका लागि विदेश जानु नपरोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेत गुर्भाकोट नगरपालिका–१० भेडाबारीका ९ वर्षीय किशोर पौडेलले आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न तथा स्वदेशमै कमाउने वातावरण बनाउन सुझाव दिएका छन् ।

आज झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा सुर्खेतमा रहनुभएका ओलीलाई किशोर पौडेलले चिठ्ठी लेखेरै यस्तो सुझाव दिएका हुन् ।

चिटमा लेखिएको छ,‘सम्मानीय पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यु, म र मजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नको लागि विदेश जानैपर्ने अवस्थाको अन्त्य गरिदिनिहुन अनुरोध गर्दछु।’

अध्यक्ष ओलीले ती बालकले आफूलाई दिएको चिठ्ठी फेसबुकमा राख्दै आफ्नो पार्टीको अभियान त्यसैका लागि भएको बताउनुभएको छ । उहाँले मध्यपहाडी क्षेत्रमा अहिले चिल्ला सडक बनेको बताउँदै ती बालको सपना पूरा गर्न सघाउने प्रतिवद्धता जाहेर समेत गर्नुभएको छ।

‘आज हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो । हिँड्ने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिठ्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए’, अध्यक्ष ओलीले लेख्नुभएको छ,‘मैले सोचेँ– हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।’

Back to top button