निर्वाचनसम्बन्धी कानुन परिमार्जन गर्न सरकार तयार : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

निर्वाचन आयोग र एसियन नेटवर्क फर फ्रि इलेक्सनको आयोजनामा आजबाट काठमाडौंमा सुरु एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरमको उद्घाटन गर्दै मन्त्री साउदले निर्वाचनका अनुभव र सिकाइका आधारमा लोकतन्त्र सबल बनाउनका साथै निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताउनुभयो।

मन्त्री साउदले स्वच्छ,स्वतन्त्र र निष्पक्ष निर्वाचनका प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपालमा स्वायत्त निर्वाचन आयोग र यसले समयसापेक्ष आफूलाई परिवर्तन गर्दै विभिन्न निर्वाचनहरू सफलतापूर्वक सम्पन्न गरेको धारणा राख्नुभयो।

यस्तै, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई प्रभावकारी बनाउनका लागि सबैको सुझाव आवश्यक रहेको बताउनुभयो । निर्वाचनलाई सहभागितामूलक बनाइ लोकतन्त्रलाई परिणाममूलक तुल्याउन साझा प्रतिबद्धतामा उहाँले जोड दिनुभयो।

सम्मेलनमा एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै भोलि सम्पन्न हुने आयोजकले जनाएको छ ।

Back to top button