कवाडी गोदाम आगलागी अपडेटः मृतकको संख्या ३ पुग्यो

विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा हिजो आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

हिजो दिउँसो भएको आगलागीमा परी १ जनाको घटनास्थलमै र अर्का १ जनाको न्यूरो अस्पतालमा मृत्यु भएको थियो । थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइतेमध्ये १ जनाको गएराति मृत्यु भएको हो ।

प्रहरीका अनुसार आगलागीमा परी शुशिला पासवानको घटनास्थलमै मृत्यु भएको थियो । ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

विराटनगर–६ का मण्डल कवाडी गोदामको सञ्चालक पनि हो । थप उपचारका लागि काठमाडौ पठाइएका ४ मध्ये बुधबार राति सुनिता कामतको मृत्यु भएको मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।

आगलागीमा परी घाइते भएका विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै सुनिता कामत, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामतलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत हिजो काठमाडौं पठाइएको थियो ।

विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी गोदाममा हिजो दिउँसो २ः१५ बजेतिर एक्कासी आगलागी सुरु भएको थियो । गोदाम भित्र काम गरिरहेको अवस्थामा चुरोट सल्काएपछि एक्कासी आगो लागेको थियो । गेट छेउमा लागेको आगोका कारण काम गरिरहेका कामदार सहजै बाहिर निस्कन पाएनन्, जसले गर्दा मानवीय क्षति भएको प्रहरीले बताएको छ ।

यस्तै, आगलागीका कारण कवाडी गोदाम पूर्णरुपमा जलेको छ । क्षतिको विवरण आइनसकेको डिएसपी दाहालले बताउनुभयो ।

Back to top button