पत्रकार देवानमाथि भएको आक्रमणको पत्रकार महासंघ मोरङद्वारा निन्दा ,दोषीलाई कारबाही गर्न माग

विराटनगर। नेपाल पत्रकार महासंघ मोरङले आवर विराटनगरका समाचार संयोजक प्रेम देवानप्रति भएको आक्रमणको घटना प्रति निन्दा प्रकट गरेको छ। आज पत्रकार महासंघ मोरङले विज्ञप्ति जारी गर्दै पत्रकार देवान माथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाहीको दयारामा ल्याउन माग गरेको हो।

पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले जारी गर्नु भएको विज्ञप्ति अनुसार हिजो विराटनगर वडा नं ७ मा रहेको सातघुम्ती मार्गमा संचालित कवाडीपसलमा भएको आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै आज स्थानीयवासी र पीडित पक्षले गरेको महानगरपालिका घेराउ कार्यक्रमको समाचार संकलनका लागि पुग्नु भएको पत्रकार देवान माथि महानगरपालिका परिसर अगाडी आक्रमण भएको थियो ।

आक्रमण बाट पत्रकार देवानको शरीरमा चोटपटक लागेको जनाइएको छ भने आक्रमण गर्नेको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले बताउनु भएको छ।

Back to top button