पत्रकार देवानमाथि भएको आक्रमणको मोरङका प्रेस संगठनहरूद्वारा भत्सर्ना , दोषिलाई कारबाही गर्नुपर्ने माग

विराटनगर : मोरङमा सक्रिय पत्रकार संगठनहरूले आवर विराटनगरका समाचार संयोजक प्रेम देवानमाथि भएको आक्रमणको घोर भत्सर्ना गरेका छन् । आज प्रेस चौतारी मोरङ , प्रेस युनियन मोरङ , प्रेस सेन्टर मोरङ र समाजवादी प्रेस संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषिलाई कानुनी कारबाहीको माग समेत गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा हिजो विराटनगरमा भएको आगलागीको घटनालाई नियन्त्रण गर्न महानगरपालिकाको कमजोरी रहेको भन्दै महानगरपालिका अगाडी भइरहेको प्रदर्शनको समाचार संकलन गर्न बोलाएर पत्रकार देवानमाथि सुनियोजित ढंगले आक्रमण भएको जनाइएको छ ।

समाचार संकलन गर्न बोलाएर पत्राकार माथि गरिएको आक्रमण हुनुले विराटनगरमा गुण्डाराजको अभ्यास मौलाएको महसुस भएको पत्रकार संगठनहरूको ठहर रहेको छ ।

संयुक्त विज्ञप्तिमा स्थानिय प्रहरी-प्रशासनलाई पत्रकार देवानमाथि आक्रमण गर्नेहरूको पहिचान गरि कानुनी कारबाही गर्न तथा संविधान प्रदत्त अधिकार अनुरूप स्वतन्त्रतापूर्वक शान्त वातावरणमा रिपोर्टिङ गर्ने माहोल बनाउन समेत सचेत गराइएको छ ।

संयुक्त विज्ञप्तिमा प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइराला , प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल , प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य र समाजवादी प्रेस संगठन मोरङका सचिव उत्तम पोखरेलले हस्ताक्षर गर्नु भएको छ ।

 

Back to top button