काठमाडौं नागढुंगाबाट दुईकिलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल्सेङ तामाङ, २६ वर्षीय विरु तामाङ र २१ वर्षीय सुनिल भुजेल पक्राउ परेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुन बरामद गरेको हो ।

गएराति दुई किलो सुनसहित तीनलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिनुभएको हो । उहाँका अनुसार उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर सुन ल्याएको प्रहरीले जनाएको छ । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याइएको १४ किलो सुन भन्सार विभागको टोलीले बरामद गरेको थियो ।

Back to top button