एमाले बाहेक अरू कसैले देश बनाउन सक्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा हुँदा विकास निर्माणका क्षेत्रमा नयाँ–नयाँ काम गरेको बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि सङ्कल्प यात्राको क्रममा आज बिहान पोखराको तालचोकमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेले सरकारमा हुँदा पुराना संरचनालाई पनि नयाँ ढङ्गले विकास गरेको बताउनुभयो।

उहाँले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिका साथै मध्य पहाडी लोकमार्ग लगायतका नयाँ–नयाँ सडक संरचना एमालेको पालामा विकास भएको बताउनुभयो । एमालेको पालामा, सडक, पुल, अस्पताल, रेलदेखि पानी जहाजसम्मको काम अघि बढेको उहाँले सुनाउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेको पालमा सबैभन्दा छिटो विकासले गति लिएको नेपाल अढाई वर्षकै बीचमा विश्वको गरिब मुलुक बन्न पुगेको बताउनुभयो । उहाँले एमालेले सुरु गरेको विकास निर्माणको काम अहिले ठप्प भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

निर्माणको कामलाई छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्ने, पर्यटन र कृषिलाई आधुनिकीकरण गर्नुपर्ने र हरेक पेसा व्यवसायलाई अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । ‘हामीले बनाउनुपर्छ हाम्रो देश, हाम्रो देश बनाउन हामीले हाम्रो देशको युवा शक्तिलाई देश भित्रै राख्नुपर्छ’, उहाँले भन्नुभयो ।

यात्राको क्रममा नागरिकबाट आएका सुझाव सुन्दै ध्यानाकर्षण पत्र बुझ्दै आफूहरू अघि बढेको अध्यक्ष ओलीले बताउनुभयो । यात्रा सम्पन्न भएपछि ती सबै कुराहरूलाई केलाएर एमालेले मध्य पहाडका समस्या समाधानको योजना बनाउने उहाँले प्रष्ट पार्नुभयो । ‘एमाले बाहेक अरू कसैले यो देश बनाउन सक्दैन’, उहाँले भन्नुभयो ।

Back to top button