एनसेल सेयर स्वामित्व बिक्रीको नाटकमात्र : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एनसेल सेयर स्वामित्व बिक्री नाटक मात्र भएको टिप्पणी गर्नुभएको छ ।

आज प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले एनसेलको विषय गम्भीर र भयावह भएको बताउनुभयो ।

‘यो बिक्री हो जस्तो लाग्दैन, बिक्रीको नाटक मात्र हो । पहिले नै श्रीमतीको नाममा २० प्रतिशत थियो, श्रीमानको नाममा अर्को कम्पनी खडा गरेर ८० प्रतिशत आयो यस्ता खालको काम भएका छन्, यो नाटक हो, यसमा अलि ध्यान दिनुपर्छ’ पाण्डेले भन्नुभयो ।

गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सार्वजनिक जानकारी गराएको थियो ।

एनसेलको बाँकी २० प्रतिशत शेयर आचार्यकी पत्नी भावना सिंह श्रेष्ठको नाममा छ । एनसेलको बिक्री मूल्य पनि आजियटाले किनेको मूल्य भन्दा ९६ प्रतिशत अर्थात् करिब ५ करोड अमेरिकी डलर मात्र रहेको सार्वजनिक गरिएको थियो । त्यसैले उक्त कारोबार अविश्वसनीय रहेको भन्दै प्रश्न उठिरहेको छ, सरकारले पनि छानबिनका लागि समिति गठन गरेको छ ।

यस्तै, खर्बको पुँजी भएको र राम्रो कमाइ भइरहेको कम्पनीलाई अर्बमा बेचिएको भन्दै एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डेले यस विषयमा आवश्यक परेमा प्रधानमन्त्रीलाई नै बोलाउनुपर्ने बताउनुभयो ।

‘एनसेलको सन्दर्भमा हाम्रो समितिको तर्फबाट गर्नुपर्ने भूमिकामा कमी आउन दिनु हुदैन, प्रधानमन्त्रीलाई बोलाएर के–के स्टेप चाल्नुभयो भनेर सोध्न सक्छौं’, उहाँले भन्नुभयो ।

Back to top button