विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीको इजरायली विदेशमन्त्रीसँग कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गर्नुभएको छ ।

मन्त्री साउदको सचिवलायका अनुसार आज बिहान भएको टेलिफोन संवादमा इजरायली विदेशमन्त्री काहेनले जोशीको रिहाइका लागि आफूहरूले पहल गरिरहेको जानकारी दिनुभएको छ ।

‘विपिन जोशीको रिहाइका बारेमा हामीले आफ्नो तर्फबाट सकरात्मक प्रयास गरिरहेका छौँ । यसअघि युद्धविरामको समयमा रिहाई गर्ने भरपुर कोशिस गरिएको थियो, त्यसलाई हामीले निरन्तरता दिइरहेका छौं’, इजरायली विदेशमन्त्री कोहेनले साउदसँगको टेलिफोन संवादका क्रममा भन्नुभयो ।

परराष्ट्रमन्त्री साउद ‘दोहा २१ औं फोरम’ मा सहभागी हुन शनिबार कतार जान लाग्नुभएको छ । कतार भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइको पनि पहल गर्ने बताइएको छ ।

यसअघि ८ मंसिरमा साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा पनि रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो।

Back to top button