एनसेल खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई बोलाउने राज्यव्यवस्था समितिको निर्णय

काठमाडौं । एनसेल खरिद बिक्री प्रकरणमा छलफल गर्न राज्यव्यवस्था समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाउने निर्णय गरेको छ । आज बसेको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरण शंकास्पद् देखएको भन्दै समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाउने निर्णय गरेको हो ।

समितिका सभापति रामहरि खतिवडाले एनसेल बिक्री प्रकरणमा छलफल गर्न प्रधानमन्त्री बोलाउने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीज्युको समय मिलाएर एनसेलको सेयर खरिद बिक्रीबारे छलफल गर्न उहाँलाई बोलाउने निर्णय भएको छ।’

यसअघि लेखा समितिले पनि प्रधानमन्त्री प्रचण्डलाई बोलाउने निर्णय गरेको थियो भने अर्थ समितिले एनसेल खरिद बिक्री प्रकरणमा १५ दिन जवाफ पेस गर्न निर्देशन दिएको थियो ।

यसैबीच उच्च अदालत पाटनले एनसेल खरिद बिक्री रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा हिजो अल्पकालीन अन्तरिम आदेश जारी गर्दै एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा अभिलेख खर्ता नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

Back to top button