नेकपा माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन, पार्टीले संचालन गरेको जनतासँग माओवादी विशेष अभियान, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताउनुभयो ।

विशेष गरी आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र आगामी १६ पुसमा समापन हुन लागेको पार्टीको अभियानका विषयमा बैठकमा छलफल हुने उहाँको भनाइ छ । अभियानको समीक्षाका लागि केन्द्रीय समितिको बैठक बोलाउने मिति यो बैठकले तय गर्ने बताइएको छ ।

यस्तै, बैठकमा पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार एक वर्ष पुगेकाले त्यसको समीक्षा पनि हुने बताइएको छ ।

Back to top button